चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगलमा । स्टोन फरेस्ट अर्थात् ढुंगाको जंगल । त्यो पनि विश्व प्रसिद्ध । नामले जति अनौठो छ, यसको प्राकृतिक बनोट र सौन्दर्य पनि उत्तिकै आकर्षक । चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने यस जंगललाई विश्वकै आश्चर्यका समेत लिइन्छ ।
युन्नान प्रान्तको सदरमुकाम खुन्मिङ सहरदेखि ८७ किलोमिटर पूर्वको सिलिन यी स्वायत्त काउन्टीस्थित ३ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्यावरणीय पार्क नै ढुंगाको जंगल हो । यस क्षेत्रमा ढुङ्गाका स-साना बिरुवादेखि ५० मिटर अग्ला ढुङ्गाका रूखसम्म छन् । आकृति पनि फरक फरक छ । कुनै धरहराजस्ता चुच्ची त कुनै च्याउजस्ता छाता आकारका छन् । मान्छे र विभिन्न प्राणीको आकृति झल्काउने पनि छन् ।
ठाउँ ठाउँका स-साना पानीका तलाउ छन् जहाँ अग्ला ढुङ्गाका आकर्षक प्रतिविम्बहरू देखिन्छ । ढुङ्गाघारीका बीचमा फराकिला र सफा बाटोहरू छन् । त्यहाँ थकाइ मार्ने र फोटो खिच्नका लागि विभिन्न ठाउँहरू निर्धारण गरिएका छन् ।
सन् २००७ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेको छ । चीनका ख्यातिप्राप्त पर्यटकीय स्थलमध्येमा पर्ने यस पार्कमा वाषिर्क ३० लाख सरदर पर्यटकले भ्रमण गर्छन् । २७ करोड वर्षपहिले समुद्रबाट यसको उत्पत्ति भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । लगभग बीस लाख वर्षअगाडि समुद्रको पानी सुक्दै र चुनढुङ्गाहरू बिलाउँदै गएर अहिलेको आकृति बनेको त्यहाँको सूचनापाटीमा उल्लेख छ ।