मनास्लुले मथेको मथिंगल !

मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो।

पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट पैदल ८ किमी हिंडेर तातोपानी हुँदै दोमन गएर बास बस्यौं। गुरुङसेनी दिदीकोमा बसियो। उहाँ वडा अध्यक्षका लागी समाजवादीबाट सिफ़ारिस हुनु भएको रैछ। बुढी गण्डकीको तिरैमाथी रहेको होटेलले मेरो घरको याद दिलायो। पारी लार्के जोडिने सड़क खनिदै रहेको दृश्य देखिंन्थ्यो। दिदीका दुई बूढ़ी आमाहरू पनि थिए। निकै मीठा गफ गरेर त्यो रात त्यही बिताइयो। बास रमाइलो भो।

दोस्रो दिन बिहान सबेरै उठेर हामी निरन्तर हिंड्यौ। बाटाभारी खच्चर आइरहन्थे। अलिकती माथी गएपछी विशाल पहिरो देखिन्थ्यो। बल्ल तल्ल पार गरियो, चिप्लियो भने सिधै गण्डकी पुगिने डर थियो। विश्वास भाई र अंकित भाईलाई अघि राखिएको थियो। मिलन पछाडी थियो। म र विपिन बीचमा थियौं। पहिरो कटाएपछी लामो सास फेर्यौ। जगत पुग्नु अघि क्यान्टीलिभर ब्रिज चढ़यौं। बाटो तल बग़र नै बगर रैछ। झन्ड़ै १२ बजे हामी जगत पुग्यौ। हामी एक्लेभेट्टी (चिसापानी) गएर बस्यौं।

फिलिमबाट केही पर मात्रै रहेछ। पानी पर्नाले हामीले सोचेको गन्तब्यमा पुग्न सकेनौं।होटेलवाला दिदी आएर मृगको मासु छ खाने हो भनेर सोधिन्। हुन्छ भन्यौं। तर बेलुका खाँदा मृगको मासु होईन भन्ने चाल पाएँ। बिहान पैसा तिर्यौं, अनि हिंड्यौ। तर केही भनिएन।

तेस्रो दिन सबेरै उठियो। नामरुँग पुग्ने प्लान सहित हिंडियो। बेलुकाको हावाहूरी र पानीले आकाश मस्त खुलेको थियो। बाटामा विदेशीहरू पनि देखिन थाले। अनि चूम उपत्यका र नुब्री उपत्यका छुट्टयाऊने पूल नीर भारतीय पर्यटक संग चिनाजान पनि भयो। कमल रैछ उहाँको नाम। एमबीए सकेर एप्पलको कम्पनीमा काम गरिरहेका रहेछन्। गफ़िदै गैयो। विविध विषयमा संवाद गरियो। त्यसपछी हामी गन्तव्य भेटाउने उद्देश्यले अलिक छिटो हिंडन कमल दाईसंग बिदाई मागेर हतारियौं।

बाटोमा राम गुरुग भन्ने मज्जाको साथीसंग चिनाजान पनि भयो। धेरै अनुभूति हरू बाँडे, मैले मेरा हिमाल यात्राका जिज्ञासाहरू मेटें। हामी न्याक फेदी, पेवा हुँदै राना पुगेर दिऊँसोको खाना खायौं। त्यहाँ भेटीए सामागाऊँबाट वडा अध्यक्ष उठन लागेका नोर्बु अंकल। मन्त्र फिल्ममा सानो रोल पनि खेल्नुभारैछ। अनि बाटाभरी गफिंदै ऊनीसंगै त्यो साँझ घाप बसियो। घापमा खच्चर लिएर हिंड्ने मनु भाई रातमा हामी बसेकै होटेलमा भेटिए। त्यो रात नामरूँग पुग्न सकिएन। यहाँ एनटीसीको नेटवर्क टिप्यो, नेट नि चल्यो। वीच्याट चेक गरेको चीन बोलाउने कुरो आइसकेछ, लिस्टमा नाम रैछ। अर्कों तिर चिनियाँ परीक्षाको खबर पनि रैछ। मनले हंस छाड़न थाल्यो।

चौथौं दिन बिहान उठता चीन जाने कुरो र परीक्षाले तर्साइराखेकै थियो। शनिबार सामाँ गाऊँ सम्म पुग्ने तरिकाले प्लान गरें, भाईहरू राज़ी भए। २ दिन एक्स्ट्रा निस्कने भयो। अनि हिडन थालियो। अलिक पर जंगल नीर गज्जबको होटेल रैछ। ब्रेकफ़ास्ट गर्ने भनेर बंसियो।

त्याहाँ सिंगापुरका १०/१२ जना पर्यटकहरू रैछन। हामीलाई देखेर दंग परेछन्। मनास्लुमा नेपाली युवाहरू देख्ता खुशी लाग्यो रे, हाम्रो अनुभूति सुनेर, हिडाई देखेर, ब्लू सिप इन दी हिमालयज भन्ने उपनाम दिए। सार्है मज्जा थिए।

सिंगापुर घुम्ने निम्तो पनि दिए। अनि कंट्याक्ट आइडी हरू सेयर गरेर बिदाई भैयो। अनी उकालोमा। भेटीए बल्ल ट्रेकिंग निस्केका नेपाली, अंकल आंटी भनेर सम्बोधन गरेम हामीले। सामागाऊँ सम्म पुगेर आऊनुभारैछ। खुशी लाग्यो। अनि बाटा बाट अब हिमाल देखिन थाल्यो, आकाश मस्त खुलेको थियो। नामरूङ हुँदै भन्जम गएर दिउँसोको खाना खायौं। सामागाऊँका वडा अध्यक्ष अंकल त्यतैबाट छुट्टीए। हामी भने बिस्तारै हिडन थाल्यौं।

उँसोको खानाले अल्छीपना बढ़ायो। अनि सामागाऊँ पुग्ने भनेपनि ल्होमा गई बस्ने कुरो भो। बिपिन भाई आफू सामाँ गाऊँ नपुग्ने कुरो अड्डी कसी रह्यो। मैले पनि अवस्था हेरेर बसौंला भने। बाटामा भेटीए ल्होका दाई होटेल वाला दाई। अनि आफ्नैमा बस्न भने। नाई भनिएन। राती उनकोमै पगियो।
पाँचौं दिन बिहान उठेर मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गरियो।

ल्होबाट जत्तिको मनास्लुको सुन्दरता अन्यत्रबाट नदेखिने रैछ। अनि सामाँ गाऊँ खासै टाढा नभएकाले स्याला गाऊँ पनि बिस्तारै हिंडियो। स्यालामा ब्रेकफ़ास्ट गरियो। अनि त्यताबाट लागियो सामाँ गाऊँ तिर। बाटामा सामा गाऊँ पुग्न झोलुंगे पूल तरेर बसेका थियौं। अगाडी याक लिएर जाँदै थिए एक दाई, अनि पछाडी थिए यी घोडा चढेर आऊँदै गरेका दाई। ‘घोडा चढ्ने हो भाईरु’ दाईले हामीलाई यसै भन्नुभो। हामीलाई विश्वास लागिरा थिएन। हुन्छ भन्दै मिलन भाई गयो, अनि पालै पिलो हामी सबैले साम्दो सम्म चढ्यौं।

अन्तिममा मैले पैसा दिन खोजें लिन मान्नु भएन। तर मैले चिया खर्च भनेर थमाई छाडें। म दंग परें अपरिचित हामीका लागी त्यो दयाको सागर किनरु सवाल घोडा चढ्न पाउने कुरोको थिएन, सवाल त्यो प्रेमको थियो। अनि मैले तस्बिर ख़िच्न आग्रह गरें, दाइले मुसुक्क हाँसेर मंजुरी दिनुभो। हिमाली मन, नेपाली पन ! अनि पुगियो गौरीशंकर स्कूलमा कार्यक्रम हेर्न, हेरियो केही बेर।

निक्कै सुन्दर लाग्यो ठाऊँ। विविध मानिसहरूसंग संवाद गरियो। साना नानीबाबुको कलाहरू हेरियो। निक्कै हार्दिकता पनि पाइयो। दिंउसो १ बजे तीर सामा गाऊँ गएर पुगियो। वडा अध्यक्ष अंकलको घर बंसियों। आराम गरियो। अनि वाईफ़ाई रैछ। वीच्याट चेक गरियो। शनिवारको परीक्षा विदेशी विध्यार्थीले दिन नपर्ने रैछ। खुशीले दंग परियो। मन प्रफुल्ल भो। चीन जाने कुरो पनि धन्न में होलिडे ले गर्दा केही दिनलाई स्थगित भएछ, मन हल्का भो।

छैठौं दिन बिहान वीरेन्द्र ताल हेर्न गयौं। झन्ड़ै १ घण्टा लगाएर ताल पुगियो। निक्कै सुन्दर रैछ। तालमा घुमेर सामाँ गाऊँ नै फर्कीयौ। मनमनै चाही बरू ब्याग बोकेर यतैबाट साम्दो लाग्न पाकों भएनि हुने भनेर लागीरह्यो। फर्केर सामाँ गाऊँ आइयो, अनि खाना खाएर हामी साम्दो पुग्यौं। विपिन भाई सन्चो नभएकोले त्यतै बस्ने कुरो थियो। पछी खाना खाइसकेपछि हिडन सक्ने भएसी हामी धर्माशाला पुग्ने भयौं। एकातिर पानी अर्कों तिर हावा अनि डरलाग्दो पहिरो लडने ठाऊको कष्टकर यात्रा पार गर्दै, धर्मशाला पुगेर आगो मस्त ताप्ने हो भनेर मनको लड्डू घ्यूसंग खांदै ४ बजे तीर हामी धर्मशाला अर्थात् लार्केफ़ेदी पुग्यौ। तर हामीले सोचेजस्तों केही थिएन। दाउरा त परको कुरो। अनि त्याहा बस्ने घरमा सिरक मागेर न्यानोमा गुडुल्कियौ। रातको खाना खाएर बिहान ३ः३० मा उठने कुरो भयो।

सातौं दिन बिहान ३ः३० को अल्रामले उठायो। अनि च्या र बिस्कुट खाएर हामी ४ः४० मा लार्के ला पास ९५,१६० मी० पार गर्न भनेर हिंड्यौं। बाटामा भेटिएका अन्य पर्यटकहरूलाई पछी पार्दै, नयाँ हिउँ संग संघर्ष गर्दै ४ घण्टामा पास पुगियो।

सानो दुःख थिएन। पाइला पाइलाको संघर्षले २०० मी कटाऊन बहुत गार्हो भो। मैले चढ़ेका उचाइहरू मध्येको जीवनको पैलो ५००० मी को पास यही थियो। भाईहरू सब थाकेका थिए। म आफैं थकित देखिन्थे, नजिकै देखिन्थ्यो तर पुग्यो फेरी पर, यो ‘भ्रम’युक्त वातावरण पनि ४ घण्टाको संघर्ष पछी पार लगाइयो। हर्षविभोर भैयो। चारैतिर हिमाल, माथी आकाश् र पासमा केवल हामी थियौ। खुशीले दंग भैयो। अनि कालाबादल मडारिन थालेको देखेसी अब अलमल गर्न हुन्न भनेर तल झर्न थालियों। अनि पैसा क्यास सकीएकोले हामी भीमाथाङमा केवल च्या र सूप खाएर निस्कियौ।

त्यता नबसी गोवा आएर बस्यौं। मनाङ पुगीएछ। दूध खोलाको तिरैतीर, गुराँसको वन हुँदै हामी गोवा पुग्यौ। त्याँ माया पाइयो। गोवा आएसी मन हल्का भो, पानीले भिजीएको थियो। आगो तापियो, गुरुङसेनी दिदी आफैले बनाको कोदोको झोल पनि खाइयों। अनि खाना खाएर मस्त सूतियों।

आठौं दिन बिहान ७ बजे उठियो। होटेलको दिदी जिनु दिदीसंग मस्त संवाद गरियो, स्याऊ फार्म, सतुवा फार्म, हेरियो। शिक्षण पेशामा आबद्द तर काम जता पनि भ्याएको देखेर दंग परियो। मुक्तकण्ठले प्रशंसा गरियो। दिदीले हाम्रो समस्या बुझेर हामीलाई सघाउनु पनि भयो। अनि बिहानीको ब्रेकफ़ास्ट हिंडेर तिल्चे हुँदै दूध खोला र मरस्यांगदीको दोभानमा आएर खाना खाइयो। क्यास पैसा सकिसकेको थियो। अनलाईन तिरियो। बेशीशहर जानको लागी गाड़ीलाई फ़ोन गरेको ठ्याक्क पाइयो पनि। असार १ ले विनाश गरेको पट्टयार लाग्दो दृश्य र चुनावि माहोल हेर्दै बेशीशहर बंसियो, डुलियो।

यात्रामा नेपाली ग्रुप हामी मात्रै थियौं। सबै विदेशी, नेपाली गाइड र पोर्टरहरू मात्रै। हर ठाउँमा सहयोग र माया पाइयो। मानिसहरूसंग अद्भूत संवाद हरू भए। केटाकेटीहरू संग नजिकीएँ। अनुभूतिहरू आदानप्रदान गरियो। गुरुङ समुदायले मन जीते, नेपालीपन लाई त्यो हिमालमा उँचो बनाएका रहेछन्।

सबै भिन्न भिन्न तरिकाले गतिमान थिए। सबै मस्त व्यस्त थिए। आफ्ना दुःखका सारथी भएर हिंडेका थिए। हर मानिसहरू नबोले पनि मुसुक्क मुस्कान साट्थे, मनास्लु, हिमचूली, बुद्ध हिमाल बडो शान्त्र देखिन्थे। बादलहरूले बिस्तारै हिमाल दर्शनमा निस्केको भेऊ पाइन्थ्यो। खच्चरहरू, याक हरू देखिन्थे।

मनास्लु क्षेत्र पहिरोले ग्रस्त रैछ। बर्खायाममा यात्रा गर्न लगभग असम्भव नै रैछ। तल्लो बेल्टमा स्वास्थ्य क्षेत्रको अवस्था राम्रो रैनरैछ। प्रोजेक्ट हरू सबै माथी मात्रै बस्ने रहेछन्। चीन जोडने सडकले पुराना बस्तीहरू विस्थापित गरेछ। प्लास्टिक जन्य फोहोरले मनास्लु लाई नि छाडेको छैन।

कम बजेटमा ९ दिने यात्रा सकाइयो। मनास्लु सर्किट यात्रालाई एकदम सुन्दर गन्तव्य हो भन्ने कुरोमा संदेह छैन। मनास्लु नेपालीहरूको पर्खाइमा छन्। विदेशीले भन्दा नेपालीले खर्च राम्रो गर्छन् भन्ने अनुभव त्यता पनि सुनियो। यो पदयात्रा मात्रै भो मलाई चाही अन्य गुरुङ गाऊँ घुम्ने रहर ।

Leave a Comment

Your email address will not be published.